प्रचण्डको चिन्ता : ठूला परिवर्तन मिलेर गर्‍यौँ, तर विकासमा मिल्न सकेनौँ !


चितवन : नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्ककमल दाहाल 'प्रचण्ड'ले विकासमा एकताको आवस्यकता रहेको बताएका छन् ।
मुलुकको राजनीतिक व्यवस्था परिवर्तनमा एक भएका शक्तिको एकता नहुँदा विकासले गति लिन नसकेको उनको गुनासो छ । सहकार्य विना समृद्ध नेपाल र सुखी नेपालीको अभियान सफल नहुने पनि उनको भनाइ थियो ।
चितवनको सौराहामा आयोजित १६औं हात्ति महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले विकासको गति लिने कुरामा आफूहरु चुकेको स्वीकार गरे । लोकतान्त्रिक व्यवस्थाका लागि सहकार्य गरेका दलहरु मिल्नुको विकल्प नरहेको उनको तर्क थियो । विकासको कुरामा खुट्टा तानातानको  अवस्था आएको पनि दाहालले बताए ।
'ठूला परिवर्तन मिलेर गर्‍यौँ, तर विकासमा मिल्न सकेनौँ । विकासको कुरामा खुट्टामा तानातान गर्ने स्थिति आउने हो कि भन्ने चिन्ता देखिन्छ,' नेता दाहालले भने । दाहालले विद्रोही दल विप्लव नेतृत्वको नेकपा माओवादीतर्फ इंगित गर्दै विकासको लागि अवसरको सदुपयोग गर्न एकता, सकारात्मक सोच र रचनात्मक पहलकदमी भन्दा नकारात्मक ध्वंसात्मक प्रवृत्ति देखिएको औंल्याए ।
उनले भने, 'हामी अवसरको संघारमा छौँ, यस्तो अवसर सधैँ पाइँदैन । अवसर सदुपयोग गर्न चुकेका हौँ कि भन्ने देखिन्छ, यसलाई खेर जान दिनु हुँदैन ।'

Comments